डा संगिता राई
कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभाव बढेसँगै पुनः जनमानसमा त्रास फैलिएको छ। सरकारले पनि बढी भन्दा बढी सावधानी अपनाउन सर्वसाधारणमाझ आग्रह गरिरहेको छ। छिमेकी देश भारतमा नयाँ ‘डब्बल म्युटेन्ट’ भाइरस देखियो । भारतका १८ वटा राज्यमा दोहोरो उत्परिवर्तन भएको कोरोना भाइरस फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गर्यो । संक्रमणको ग्राफ पनि उकालो लागेको छ । यसको असर नेपालमा पनि देखिन थालेको छ ।
नयाँ भेरियन्ट:
१. नयाँ भेरियन्ट भनेको के हो ?
भाइरसद्वारा आफ्नो जीनको अनुक्रमलाई परिवर्तन गर्ने प्रक्रियालाई म्युटेशन भनिन्छ। जसले गर्दा भाइरस थप सङ्क्रामक र घातक हुने वा आफैं हराएर जाने हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार भाइरसले आफ्रनो संख्या वृद्धि गर्ने क्रममा आफूमा थोरै परिवर्तन ल्याउँछ। यो परिवर्तन आउनु सामान्य मानिन्छ जसलाई म्युटेसन वा उत्परिवर्तन भनिन्छ। यही भाइरस जसमा एक वा एकभन्दा बढी उत्परिवर्तन आएको हुन्छ त्यसलाई मूल भाइरसको भेरियन्ट भनिन्छ।
२. कोरोना भाइरसको यस्ता भेरियन्ट संसार भरर कति वटा रहेका छन्?
संसारभरि विभिन्न प्रकारको भेरियन्ट छन्। तर मुख्य चासो भएको तीनवटा भेरियन्ट अफ कन्सर्न (भिओसी) छन्। जुन यूके भाइरस भेरियन्ट बी १.१.७, दक्षिण अमेरिकी भाइरस भेरियन्ट बी १.३५१ र ब्राजिलीयन भाइरस पी.१ छन्।अहिले आएर डबल म्युटेन्ट र ट्रिपल म्युटेन्ट भाइरस भेरियन्ट भारतमा पनि देखा परेका छन्।
३. यी भेरियन्टहरुमा कुन बढी सङ्क्रामक हुन्छन्?
नयाँ भेरियन्ट वा नँया स्ट्रेन पहिलो स्ट्रेन भन्दा निकै द्रुतगतिमा फैलन सक्छ। त्यस मध्येमा यूके भाइरस भेरियन्ट बी १.१.७ धेरै सङ्क्रामक र घातक हुन्छ तथा तीव्र गतिमा मानिसहरु अस्पातलमा भर्ना हुनसक्छन् र दीर्घ रोगी एवं युवावर्ग समेतलाई यसले मृत्य सम्म पुर्याउन सक्छ। डबल म्युटेन्ट र ट्रिपल म्युटेन्ट भाइरस भेरियन्टले पहिले संक्रमण वा खोपबाट बनेको व्याधि क्षमतालाई छल्न सक्ने भएको कारणले यो धेरै संक्रामक भएको विशेषज्ञहरुको भनाइ छ।
४. यो नयाँ भेरियन्टको लक्षणहरु के के छन् ?
नयाँ भेरियन्टको लक्षणहरु ज्वरो आउने, लगातर खोकी लाग्ने र गन्ध तथा स्वाद हराउने जुन पुरानो स्ट्रेन जस्तै हुन्छ। अहिले यो लक्षण मात्र होइन, अरु लक्षण जस्तो शरीरमा दुखाई र पीडा हुने, पखाला लाग्ने, टाउको दुख्ने, घाँटी दुख्ने, छालामा दाग देखिने र औंलाहरुमा विकृति हुने देखिएका छन्।
५. कोरोनको खोप कतिको प्रभावकारी छ?
विभिन्न देशले कोरोनाको लागि निर्माण गरेका भ्याक्सिनहरुको प्रभावकारीतामा एकरुपता छैन। भारतमा निर्माण भएको कभिसिल्ड भ्याक्सिनको कोरोनाविरुद्धको प्रभावकारीता ७८ प्रतिशत भएको दाबी गरिएको छ। यो कोरोनको खोप बेलायती स्वरूपको कोरोना भाइरस बी.१.१.७ स्वरूपमाथि पनि प्रभावकारी देखिएको छ।
६. यो नयाँ भेरियन्टबाट बच्ने उपायहरु के के छन्?
राम्रोसँग मास्क लगाउने, तीस सकेण्ड सम्म राम्ररी हात धुने, सामाजिक दुरी बनाउने, भिडभाडमा नजाने र आफूलाई कोरोन लागेमा साथी भाइलाई सुनाउने अनि आफु आइसोलेशनमा बस्ने तथा सम्पर्कमा आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्ने उपायहरुको अबलम्बन गर्नुपर्छ।
‘डब्बल म्युटेन्ट’ भाइरस:
भारतमा ‘डब्बल म्युटेन्ट’ भाइरस देखियो । यसको असर नेपालमा पनि देखिन थालेको छ । डब्बल म्युटेन्ट भनेको के हो ?
भाइरसमा जेनेटिक कोड हुन्छ । एकैपटक दुईवटा म्युटेन्ट (उत्परिवर्तन) भएको हो । यही भाइरसको अघिल्लो भाइरसमा परिवर्तन भएको हो । जस्तै: क्रमिक रूपमा १,२,३,४ हुन्छ । त्यो भाइरसले जन्माउने भनेको १,२,३,४ नै हो । तर, १,२,३,४ को ठाउँमा २ वा ३ मा कुनै परिवर्तन भएर त्यो ठाउँमा १० पनि आउन सक्छ वा अर्को कुनै अंक आइपुग्छ । यसको मतलब १,२,३,४ मा दुईवटा परिवर्तन हुनु भनेको डब्बल म्युटेन्ट हो ।
म्युटेन्ट भएको भाइरस कति घातक हुन्छ ?
अहिले नै कति घातक भन्ने यकिन भएको छैन । यो म्युटेन्ट हुँदै जान्छ । कतै पहिलाको बढी घातक भएर आएको त छैन भनेर अनुमान गर्न सकिन्छ । यसले पार्ने असरमा फरक हुन सक्छ । जस्तै : एउटी आमाले तीन/चारवटा बच्चा जन्माउनुभयो भने सबै ‘सेम टु सेम’ हुँदैनन् । बानी व्यवहार फरक–फरक हुन्छ । त्यसैले सबै म्युटेन्ट हुँदैमा खराब हुन्छ भन्ने हुँदैन । तर, तीव्र गतिमा फैलिन लागेमा वा मान्छे मर्न थालेमा भाइरसमा परिवर्तन भएर हो कि भनेर हेर्नुपर्छ ।
लक्षण उस्तै हुन्छ कि फरक ?
यो द्रुत गतिमा फैलिने हो कि होइन ? लक्षण कडा छ कि छैन ? लक्षण कडा हुनु भनेको घातक हुनु हो । हामीले हेर्ने भनेकै यही हो । पहिला कस्तो थियो ? अहिले कस्तो लक्षण छ, त्यसको पहिचान गर्नुपर्छ । कतै यसले भ्याक्सिन र औषधिलाई चुनौति दिने पो हो कि भन्ने पनि हो । तर, नयाँ भेरियन्टबाट बच्ने उपाय पनि एउटै हो । फरक हुँदैन । उपचार पनि उही हो । तर, तौरतरिकामा भने हामीले परिवर्तन गर्नुपर्ने हुन्छ ।
नयाँ भेरियन्ट हो भनेर कसरी थाहा पाउने ?
यसमा जेनेटिक कोड हुन्छ । जस्तै : यसको छोरा हो कि होइन भनेर पत्ता लगाउनुपर्यो भने डीएनएबाट हेरिन्छ । त्यस्तै, यसमा पनि हेरिरहनुपर्छ । यो पीसीआरबाट थाहा हुँदैन । सहज रूपमा पत्ता लगाउन जिन सिक्वेन्सिङ गर्नुपर्छ ।
नेपालको स्थिति के हो ? पुरानै भाइरस हो कि नयाँ म्युटेन्ट भएको छ त ?
संसारमा सयौँ म्युटेन्ट भइरहेको हुन्छ । नेपालमा पनि भइरहेको होला । सायद कडा नभएर वा धेरै नफैलिएर त्यति ध्यान नदिइएको हुन सक्छ । नेपालमा पनि कोरोनाको चक्र चलेको एक वर्ष भयो । लक्षणविहीनबाट लक्षणसहित आउन थालेपछि अथवा नयाँ–नयाँ लक्षण थपियो भने, भाइरसको स्वभावमा परिवर्तन भयो भने, शरीरमा नयाँ समस्या देखियो भने कतै भाइरस परिवर्तन भएको त होइन भनेर हेर्नुपर्छ ।
नेपालमा अहिले पनि १ सय जनाको हाराहारीमा दैनिक संक्रमण देखिएको छ । त्यो कहाँबाट आयो ? समुदायमा खोजिएको छैन । अहिले परीक्षण गर्नेहरूमा धेरै विदेश जानेहरू नै छन् । पाेजिटिभ आएकाहरू पनि अरु कडा लक्षण देखिए मात्र अस्पताल जाने भनेर घरमै बसेका छन् । त्यसैले नेपालमा पनि लामो समयदेखि भाइरस घुमिरहेकाले म्युटेन्ट भएको हुनुपर्छ ।
भनेपछि हाम्रो समुदायमा पनि म्युटेन्ट भाइरस घुमिरहेको छ ?
हुन सक्छ । भाइरस आफैँमा स्वभावत: म्युटेन्ट भइरहने हो । नेपालमा नयाँ भेरियन्ट बनेको छ छैन भनेर हेर्नुपर्छ । भाइरसको स्थिति के छ भनेर मैले सुरुदेखि नै भन्दै आएको हुँ । कसैले चासो दिएको देखिएन । यूके भेरियन्ट आएपछि मात्र हल्ला भयो । नेपालमा अध्ययन अनुसन्धान गरेर हेरिएको छैन । यद्यपि, भाइरस आफैँमा म्युटेन्ट भइरहने हुनाले नेपालमा पनि म्युटेन्ट भएको हुन सक्छ ।
त्यसो भए हामी सुरक्षित छैनौँ ?
नेपालमा अहिले नै बढिहालेको नभए पनि भारतमा देखिएपछि नेपालमा पनि पक्कै असर पर्छ । अहिले अघिल्लो वर्षकै सिनारियो देखिएको छ । भारतबाट थोरै मानिस आए भने त कन्ट्रोल गर्न सकिएला तर धेरै आए भने के गर्ने ? धेरै आउने सम्भावनलाई रोक्नुपर्छ । पहिलाको कमीकमजोरीलाई हेरेर, त्यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्छ । सुरुमै नियन्त्रण गर्न सकियो भने माथि उठ्ने प्रक्रियालाई रोक्न सकिन्छ । यसका लागि हामी नागरिक पनि जिम्मेवार हुनुपर्छ ।
भ्याक्सिन बनीकन लगाउन थालिएको छ । नयाँ प्रकारको भाइरस भेटिँदा त भ्याक्सिनलाई चुनौती थपिने भयो नि ?
हो, जति निरन्तर म्युटेन्ट हुँदै जान्छ । यसले चुनौती भ्याक्सिनलाई नै दिने हो । इन्फ्लुएञ्जा भाइरस तीव्र गतिमा परिवर्तन हुन्छ । डब्लूएचओले हरेक सिजनमा भ्याक्सिनको कम्पोनेन्ट चेन्ज गर्ने भन्छ । त्यसरी भाइरस म्युटेन्ट हुँदा भ्याक्सिनको कम्पोनेन्टमा अध्यावधिक गर्नुपर्ने हुन्छ ।