असल शासन र कुशल प्रशासन : सुशासन
राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै सुशासन हो । यसलाई असल, कुशल र जनमुखी शासन भनेर पनि चिनिन्छ । शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार र दायित्व नागरिक सेवा र सन्तुष्टि सापेक्ष गर्ने शासन प्रणालीलाई समेत सुशासन भनिन्छ । सन् १९८९ मा विश्व बैंकले विकास परियोजना सञ्चालनका लागि यसको अवधारणा अगाडि ल्याएको हो । यो जनमुखी शासन व्यवस्था हो । नेपालको संविधानले पनि दिगो शान्ति, समृद्धि र सुशासनमा जोड दिएको छ ।
सुशासनका आयामहरू
- जनसहभागितामूलक शासन व्यवस्था,
- जनउत्तरदायी सरकार सञ्चालन,
- शासन प्रक्रियामा पारदर्शिता अवलम्बन,
- कानुनमा आधारित शासन व्यवस्था,
- जवाफदेही शासन सञ्चालन,
- प्रशासनको सरलीकरण र निर्णय प्रक्रियामा सरोकारवालाको सहभागिता,
- समावेशितामा आधारित न्यायपूर्ण समाज निर्माणमा जोड,
- भ्रष्टाचाररहित समाजको परिकल्पना,
- दण्डहीनताको अन्त्य र कानुनको परिपालना,
- नियम कानुनको पूर्ण परिपालना,
- वित्तीय जवाफदेहिता प्रवद्र्धन,
- स्वतन्त्र प्रेसको व्यवस्था ।
यसरी, जनमुखी र नागरिक सहभागितामूलक शासन व्यवस्था नै सुशासन हो । यसले विकास, समृद्धि र जनसन्तुष्टिको अपेक्षा बोकेको हुन्छ । सुशासन कायम गर्न राज्य संयन्त्रका सबै अंगलाई गतिशील, सहभागितामूलक र जवाफदेही बनाउँदै नागरिक सचेतनाको समेत विकास गर्नु आजको आवश्यकता हो ।