काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य सचिव लक्षमण अर्यालले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड उपचार गर्ने अस्पतालका बनाउने निर्णय गरेको जानकारी दिए।
‘काठमाडौंका सबै सरकारी अस्पतालहरुलाई शत प्रतिशत नै कोभिड बेडका रुपमा उपचार गर्ने भनेर निर्णय गरेका छौं’ उनले भने, ‘निजी अस्पतालहरुमा एक तिहाई मात्र कोभिडका लागि प्रयोग गर्न सक्नुहुन्छ भनेका छौै। तर उहाँले त्योभन्दा धेरै बेडहरु पनि प्रयोग गरेको अवस्था छ।’
उनले संक्रमणको अवस्था र बिरामीको अस्पताल भर्ना हुने दर हेर्दा अक्सिजन माग ह्वात्तै बढेको हुनाले अक्सिजनको वितरणमा चुनाैती आएको पनि जानकारी दिए।
‘अक्सिजनको मागलाई हेर्दा तत्कालै उत्पादनलाई बढाउनु पर्ने कुरामा ध्यान दिनुपर्ने देखिएको छ’, उनले भने, ‘अक्सिजनका विषयमा भारत सरकारसँग पनि हामीले छलफल गरिरहेका छौं।’